काठमाडौं। बुन्डेसलिगाको अन्तिम दिन शनिबार बोरुसिया डर्टमुन्ड र फ्र्याङ्कफर्टले च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेका छन्। फ्रायबर्ग भने युरोपा लिगमै सन्तुष्ट रहनुपर्ने भएको छ।
डर्टमुन्डले पहिल्यै रेलिगेट भइसकेको होल्स्टाइन किललाई घरेलु मैदानमा ३–० ले हराउँदै चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम टिकट हात पारेको हो। होल्स्टाइन किलले खेलको पहिलो १० मिनेटमै एक खेलाडी गुमाएको थियो।
नयाँ प्रशिक्षक निको कोभाचको प्रशिक्षणमा डर्टमुन्डले उत्कृष्ट पुनरागमन हो। फेब्रुअरीमा डर्टमुन्ड ११औं स्थानमा रहँदा कोभाचले जिम्मेवारी लिएका थिए। त्यसपछि डर्टमुन्डले लगातार पाँच खेल जित्दै शीर्ष चारमा स्थान बनाएको हो।
फ्र्याङ्कफर्टले फ्रायबर्गमाथि ३–१ को जित निकाल्दै तेस्रो स्थान कायम गर्यो। यस हारसँगै फ्रायबर्ग पाँचौं स्थानमा झर्यो र च्याम्पियन्स लिगको दौडबाट बाहिरियो। फ्रायबर्गलाई च्याम्पियन्स लिगमा पुग्न जित आवश्यक थियो।
पहिल्यै उपाधि जितिसकेको बायर्न म्युनिखले होफेनहाइमलाई ४–० ले हराउँदै सिजनको समापन गर्यो। यो थोमस मुलरको बायर्नका लागि ५०३औं र अन्तिम बुन्डेसलिगा खेल थियो।