काठमाडौं। भारी वर्षाले आइपिएल २०२५ को पुनरागमन एक दिन पछि धकेलिएको छ।
शनिबार रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। योसँगै दुवै टोलीले समान एक अंक प्राप्त गरेका छन्। यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
भारत र पाकिस्तानबीचको तनावका कारण आइपिएल एक हप्ता रोकिएको थियो। त्यसपछि सिजनका बाँकी खेलहरू शनिबारबाट सुरु हुने भनिएको थियो।यद्यपि, शनिबार साँझ एम चिन्नास्वामी रंगशालामा पानी पर्न थाल्यो र राति अबेरसम्म जारी रह्यो। यस्तो अवस्थामा खेल रद्द गरिएको हो।
मे १२ मा विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि आफ्नो पहिलो खेल खेल्ने तय थियो। उनलाई विदाइ दिन समर्थकहरू सेतो जर्सी नम्बर १८ लगाएर स्टेडियम पुगेका थिए। तीमध्ये एकले आफ्नो शरीरमा कोहलीको ट्याटु पनि खोपेका थिए।