धनकुटा। अन्तिम समयमा सम्हालिन नसक्दा चर्च ब्वाइज युनाइटेड रारा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ।
चर्चलाई सडनडेथमा ४–५ ले पराजित गर्दै एलएक्स फुटबल क्लब बेलबारी मोरङ फाइनलमा प्रवेश गरेको हो। योसँगै आइतबार हुने फाइनलमा बिर्तामोड युनाइटेड र मोरङ भिड्ने भएका छन्।
निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो। त्यसपछि खेल टाइब्रेकर र सडनडेथमा पुगेको हो। ११औं मिनेटमा प्रदीप लामाले गोल गर्दै मोरङले सुरुआती अग्रता लिएको थियो।
दोस्रो हाफमा निक्कै सुधारिएको खेल प्रदर्शन गरेको चर्चले समीर तामाङको गोलमार्फत २–१ को अग्रता बनाएको थियो। उनले ५४ र ७८औं मिनेटमा गोल गरे। तर, इन्जुरी समयको अन्तिम मिनेटमा मोरङका छिरिङ गुरुङले गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा मोरङका प्रताप राई, प्रदीप लामा, हिसुब मलिक र देवेन्द्र तामाङले गोल गरे। गोलकिपर विवेक मगरको प्रहार बाहिरियो। चर्चका सुरजसिंह ठकुरी, चन्दन दास, रोशन पहाडी र आकाश राईले गोल गरे। पदम भट्टराईको प्रहार गोलकिपर विवेकले बचाए।
सडनडेथमा छिरिङले गोल गर्दा चर्चका समीरको प्रहार गोलकिपर विवेकले पन्च गरेर बचाए। मोरङका गोलकिपर विवेक म्यान अफ द म्याच घोषित भए।