काठमाडौं। लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लट यस साता स्पेनको टापु इबीजामा समय बिताइरहेका थिए। त्यहीबेला लिभरपुलका केही खेलाडीलाई दुबईमा विश्राम गरिरहेको अवस्थामा देखिएका थिए।
तर, लिग उपाधि पहिल्यै जितिसकेको लिभरपुल टोलीले शुक्रबारदेखि पुनः प्रशिक्षणमा फर्किएको छ। अब दुई खेल बाँकी छन्। पहिलो खेल सोमबार ब्राइटनविरुद्ध हुनेछ।
प्रशिक्षक स्लटले तयारीबारे टिप्पणी गर्दै भने,‘खेलका लागि तयारी निकै राम्रो भयो। उपाधि जितिसकेको टोलीका लागि लगातार धेरै दिनसम्म प्रशिक्षण गर्नु गाह्रो हुन्छ। त्यसैले विश्राम र तयारीबीच सन्तुलन कायम गर्नु आवश्यक हुन्छ।’
स्लटले उपाधि जितिसकेपछि अन्तिम खेलका लागि खेलाडीलाई प्रेरित गर्नु चुनौतीपूर्ण रहेको स्वीकारे। ‘त्यो गाह्रो छ भन्ने कुरा सबैलाई थाहा छ। यदि हामी अझै पनि प्रिमियर लिगको प्रतिस्पर्धामा हुन्थ्यौं भने हामीले केही दिनको विश्राम त पाउने थियौं। सम्भवतः अन्यत्र जान्थ्यौं,’ उनले भने।
उनले थपे, ‘यी खेलाडीहरूले सिजनभरि विश्रामको अवसर पाएनन्। यो ध्यान दिनुपर्ने कुरा हो।’ लिभरपुलले एफए कप, लिग कप, च्याम्पियन्स लिग र प्रिमियर लिगमा लामो समयसम्म प्रतिस्पर्धा गरिरहेको थियो। अन्य केही टोलीले विश्रामको समय पाएका थिए। तर, लिभरपुलले त्यो अवसर कमै पायो।