अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दो अस्थिरताका कारण कतारमा आयोजना हुने तय भएको फिनालिसिमाको खेल स्थान परिवर्तन हुने भएको छ।
अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब स्पेनको मड्रिडस्थित प्रसिद्ध रंगशाला सान्टियागो बार्नेबाउमा आयोजना गर्ने तयारी भइरहेको छ।
युरोपेली सञ्चारमाध्यमहरूले जनाएअनुसार मार्च २७ मा हुने सम्भावित यस खेलमा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसी र स्पेनका युवा प्रतिभा लामिन यमल पहिलोपटक आमनेसामने हुनेछन्।
यसअघि यो खेल कतारको लुसैल स्टेडियममा हुने घोषणा गरिएको थियो। तर, मध्यपूर्वको युद्धजन्य अवस्थाका कारण त्यहाँ खेल आयोजना गर्नु जोखिमपूर्ण ठानिएको छ। त्यसैले आयोजकहरूले सुरक्षित र प्रतिष्ठित विकल्पका रूपमा मड्रिडको बार्नाबेउ रंगशालालाई नयाँ भेन्यु बनाउन लागेको बताइन्छ।
फिनालिसिमा युरोप र दक्षिण अमेरिकी फुटबलबीचको प्रतिष्ठित भिडन्त हो। यस खेलमा युरोपियन च्याम्पियनसिप जित्ने टोली र कोपा अमेरिका जित्ने टोलीबीच एक मात्र खेल हुन्छ।
सन् २०२४ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो भने स्पेनले युईएफए युरोपियन च्याम्पियनसिपको ट्रफी उचालेको थियो। त्यसैले यी दुई महादेशका च्याम्पियनबीचको यो खेलले विश्व फुटबलमा निकै ठूलो चर्चा पाउने अपेक्षा गरिएको छ।
बार्नाबेउ रंगशालासँग मेसीका धेरै यादगार सम्झनाहरू जोडिएका छन्। बार्सिलोनाबाट खेल्ने क्रममा उनले रियल मड्रिडको घरेलु मैदानमै उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूलाई धेरै पटक चकित पारेका थिए। त्यसैले फेरि एकपटक त्यही मैदानमा खेल्दा मेसीका समर्थकहरूका लागि विशेष क्षण बन्ने सम्भावना छ।
यसपटकको फिनालिसिमा अर्को कारणले पनि विशेष मानिएको छ। यमलले अन्तर्राष्ट्रिय फुटबलमा छिट्टै ठूलो पहिचान बनाएका छन्। मेसी र यमलबीचको सम्भावित भिडन्तलाई दुई फरक पुस्ताका प्रतिभाबीचको प्रतीकात्मक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
करिब ८० हजार दर्शक अट्ने बार्नाबेउ रंगशाला यो खेलमा खचाखच भरिने अनुमान गरिएको छ। यदि मार्च २७ कै मिति कायम भयो भने विश्वकपअघिको सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय खेलमध्ये एक बन्ने निश्चित छ।











-1773311294894.jpg&w=3840&q=75)
