काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको दोस्रो खेलमा किफायती बलिङ गरेका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध किफायती बलिङ गर्दै तीन विकेट लिन सफल भएका छन् ।सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका छन् ।
सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक /एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन खर्चिए ।

यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने म्याथ्यु वेडलाई सन्दीपले क्याच आउट गराए । म्याथ्यु ५२ रनमा आउट भए । तेस्रो ओभरमा सन्दीपले ८ रन खर्चिए । चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । बेन्जामिन २८ रनमा आउट भए ।
सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिईसकेका छन् । यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए ।
सन्दीपले दोस्रो खेलमा तीन विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । सन्दीपको टिम मेलबर्न दोस्रो खेलमा होबर्टसंग ६ विकेटले पराजित भयो ।
मेलबर्नको यो लगातार दोस्रो हार हो । ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न पहिलो खेलमा सिड्नी थण्डरसंग डकवर्थ लेविस (डीएल) पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो ।
होबर्टको भने यो लगातार दोस्रो जित हो । मेलबर्न लिगको पुछारमा छ ।