काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको दोस्रो खेलमा अहिले होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
होबर्टको घरेलु मैदानमा मेलबर्नले घरेलु टोलीलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १५५ रन बनाउन सक्यो ।
मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ तथा निक लार्किनले ४५ रन जोडे । होबर्टका जोफ्रा आर्चरले ३ तथा जोन सर्टले २ विकेट लिए ।

आज मेलबर्न पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस (डीएल) पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । त्यसैले मेलबर्न पहिलो अंक जोड्न चाहन्छ । होबर्ट भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
लिगमा मेलबर्न पुछारमा छ । होबर्ट चौथो स्थानमा छ ।
होबर्टविरुद्धको खेलमा नेपाली टोलीका युवा लेग स्पिनर टिममा परेका छन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप टिममा परेका हुन् ।
सन्दीपले डेब्यु खेलमा २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए । सन्दीप बिग बास लिगमा २ विकेट लिने पहिलो नेपाली खेलाडी पनि हुन् ।
