काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्स बिग बास लिगको पहिलो खेलमा पराजित भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस (डीएल) पद्दतिको आधारमा १५ रनले पराजित भएको हो ।
क्यानबेरामा वर्षाले प्रभावित खेलमा सिड्नीले दिएको १८२ रनको लक्ष्यसहित मेलबर्नले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि मेलबर्नले पहिलो ओभरको ३ बलमा ४ रन जोडेको थियो ।
वर्षा रोकिएपछि मेलबर्नले जितका लागि ८ ओभरमा ९० रनको लक्ष्य पाएको थियो । तर, मेलबर्नले पुरै ८ ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ७४ रन बनाउन सक्यो ।
मेलबर्नका लागि निक लार्किनले सर्वाधिक २८ रन जोडे । यस्तै ब्राभोले ११ रन जोड्दा इभान गुल्बिन्सले १० रन जोडे । सिड्नीका ड्यानियल सामले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
सिड्नीका लागि जासोन सांघाले अविजित ६३ रन जोडे । यस्तै ड्यानियल सामले ३४ तथा कप्तान शेन वाट्सनले २२ र जोस बट्लरले २० रन जोडे ।
मेलबर्नका आडम जाम्पा र डेब्यु खेलाडी सन्दीप लामिछानेले २/२ विकेट लिए ।
बिग बासको डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए । योसंगै सन्दीप बिग बास लिगमा २ विकेट लिने पहिलो नेपाली खेलाडी बने ।
सन्दीपले पहिलो ओभरमा भने उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । किफायती बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् ।
सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले म्याकुलम फेर्गुसनलाई १५ रनमा आउट गरेका थिए ।