चेल्सी जाने पक्का भए जेमी
-1751593454.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस विंगर जेमी गिटेन्स चेल्सीमा अनुबन्ध हुने पक्का भएको छ।
बिहीबार जर्मन क्लब बोरुसिया डोर्टमुन्डले यसबारे जानकारी दिएको हो।
गिटेन्स म्यानचेस्टर सिटीको युथ एकेडेमी हुँदै डोर्टमुन्ड पुगेका थिए।
हाल दुवै टोली अमेरिका भ्रमणमा छन् र क्लब विश्वकपको क्वार्टरफाइनल चरणमा पुगिसकेका छन्।
गिटेन्स १६ वर्षको उमेरमा २०२० मा डोर्टमुन्डमा अनुबन्धित भएका थिए। उनले पछिल्लो सिजन सबै प्रतियोगिता मिलाएर १२ गोल गरेका थिए। तर, फेब्रुअरीमा प्रशिक्षक निको कोभाच आएपछि उनी धेरैजसो खेलमा बेन्चमा सीमित हुन पुगे।
२०२२ मा डोर्टमुन्डबाट डेब्यु गर्नेबेला उनी ‘जेमी बायनो-गिटेन्स’ नामले परिचित थिए। तर, उनले अघिल्लो वर्ष आफ्नो नाम छोट्याउँदै ‘जेमी गिटेन्स’ मात्रै प्रयोग गर्ने घोषणा गरे।
यो निर्णय उनले आफ्ना पिताको पदचाप पछ्याउँदै लिएका थिए, जो पनि आफ्नो थरको एउटा अंश मात्र प्रयोग गर्छन्।
फिफाका नियमअनुसार क्लब विश्वकपमा एउटै खेलाडीले दुई फरक टोलीबाट खेल्न पाइँदैन। त्यसैले गिटेन्सले चेल्सीबाट डेब्यु गर्न आगामी इङ्लिस सिजनसम्म कुर्नुपर्नेछ।













