एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाडौं। गृह मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको छ।
मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाउँदै कुनै पनि पदाधिकारीलाई विदेश जान नदिन निर्देशन दिएको हो। पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा अखिल नेपाल फुटबल संघका पदाधिकारीहरूको अन्तर्राष्ट्रिय सहभागिता (वैदेशिक भ्रमण) रोक्का सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको च नं ८९३ मिति २०८३।१।८ गतेको पत्र र प्राप्त कागजातहरू (थान १३) यसै साथ संलग्न गरी मिति २०८३।०१।१० (सचिवस्तरीय) को निर्णयानुसार आवश्यक कार्यार्थ अनुरोध छ।’
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको विषयमा छानबिन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न पत्राचार गरेको थियो।












