ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

काठमाडौं। गेटाफेलाई २–० ले हराउँदै बार्सिलोना लगातार दोस्रो ला लिगा उपाधितर्फ अघि बढेको छ। फेर्मिन लोपेज र मार्कस रासफोर्डको गोलसँगै बार्सिलोनाले पछिल्ला ६ सिजनमा पहिलोपल्ट गेटाफेको मैदानमा जित निकालेको हो।
फेर्मिनले पहिलो हाफको ४५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले यो गोल घाइते लामिन यमललाई समर्पित गरे। उनले मांसपेशी चोटका कारण बाँकी सिजन गुमाउनेछन्। तर, स्पेनबाट विश्वकप खेल्न फिट हुने आशा गरिएको छ।
गोल गरेपछि फेर्मिनले हात बाँधेर ‘३०४’ संकेत देखाए। यो यमलले आफ्नो जन्मथलो (बार्सिलोनाको उत्तरतर्फ रहेको क्षेत्र) को पोस्टकोडका अन्तिम तीन अंकलाई जनाउन प्रयोग गर्ने शैली हो।
रासफोर्ड सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका थिए। उनले ७४औं मिनेटमा एकल प्रयासमार्फत दोस्रो गोल गरे र खेल २–० मा सुरक्षित बनाए। यस जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि ११ अंकको फराकिलो अग्रता बनाएको छ। अब पाँच खेल मात्र बाँकी छन्।
१० मेमा क्याम्प नाउमा यी दुई टोलीबीच ‘एल क्लासिको’ पनि हुने छ। ‘हामीलाई हाम्रो अग्रता ठूलो छ भन्ने थाहा छ। तर, अझै खेलहरू बाँकी छन्। यो सामान्य लाग्ने कुरा भए पनि सत्य हो। हामीले च्याम्पियन बन्नु अघि यही लय कायम राख्नुपर्छ,’फेर्मिनले भने।

गेटाफेको बलियो र शारीरिक रक्षाले विगत पाँच वर्षदेखि बार्सिलोनालाई समस्यामा पार्दै आएको थियो। बार्सिलोनाले यसअघि गेटाफेको मैदानमा खेलेका पाँच खेलमा एक मा गोल मात्र गरेको थियो। यसबाहेक चार बराबरी र २०२० मा एक हार बेहोरेको थियो। यहाँ बार्सिलोनाको पछिल्लो जित २०१९ मा भएको थियो।
शनिबारको खेल पनि सुरुआतमा बार्सिलोनाका लागि कठिन देखिएको थियो। तर, मिडफिल्डमा पाउ कुबार्सीले बल जितेपछि पेड्री गोन्जालेजले उत्कृष्ट पास दिँदै गेटाफेको अफसाइड ट्र्याप तोडे। त्यसपछि फेर्मिनले डेविड सोरियालाई छल्दै गोल गरे।
पछि गेटाफे बराबरीको खोजीमा अगाडि बढ्दा रोबर्ट लेवान्डोव्स्कीको लामो पासमा दौडिएका रासफोर्डले आधा मैदानभन्दा बढी दूरी कभर गर्दै सोरियालाई छलेर गोल थपे।
यसअघि बार्सिलोनाले बिहीबार यमलले चोटका कारण सिजनको बाँकी खेल गुमाउने घोषणा गरेको थियो। उनलाई सेल्टा भिगोविरुद्ध १–० को जितमा पेनाल्टीमा गोल गर्दा चोट लागेको हो।
‘म यहाँबाट उनलाई ठूलो माया पठाउन चाहन्छु। उनी हाम्रो लागि धेरै महत्त्वपूर्ण छन्। उनले खेल्न नसक्नु दुःखको कुरा हो, तर अब उनी राम्रोसँग निको भएर विश्वकप खेल्न सक्छन्,’ फेर्मिनले खेलपछि भने।
यमलको स्थानमा २० वर्षे स्विडिस फरवार्ड रूनी बार्डघ्जीले सुरुआती ११ मा मौका पाएका थिए। तर, उनले पहिलो हाफमा पाएको अवसर खेर फाले। गेटाफेले प्रशिक्षक जोसे बोर्डालासको नेतृत्वमा यस सिजन पनि राम्रो प्रदर्शन गर्दै छैटौं स्थानमा कायम राखेको छ। टोली युरोपा लिगमा स्थान बनाउने प्रतिस्पर्धामा छ।
यसैबीच, रियल मड्रिडको बार्सिलोनालाई पछ्याउने आशामा शुक्रबार झनै धक्का लागेको थियो। उक्त खेलमा रियल बेटिससँग १–१ को बराबरी खेलेको थियो। किलियन एमबाप्पे टोलीमा भित्र्याए पनि रियल लगातार दोस्रो सिजन ठूला उपाधिविहीन हुने जोखिममा छ।












