काठमाडौं । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको हो ।
टियु क्रिकेट मैदानमा चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भैरहवाका लागि प्रदीप ऐरीले ४२ रन जोड्दा कप्तान शरद भेषावकरले २९ रन जोडे । यस्तै कुशल मल्ल २७ रनमा अविजित रहदा रोहित कुमार पौडेल २४ रनमा अविजित रहे । कुशल र रोहितले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरे ।
चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । ललित भण्डारी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । चितवनको सम्मान जनक स्कोरमा दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङस खेले । दिपेन्द्र ५६ रनमा आउट भए ।
यस्तै चितवनका लागि पाउल स्टर्लिङ र जोन सिम्प्सन समान १४/१४ रन जोडे । कमल सिंह ऐरी १३ रनमा आउट भए । भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए ।
अब भैरहवाले फाइनल प्रवेशका लागि बिहिबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससंग १ विकेटले पराजित भएपनि काठमाडौंले क्वालिफायर खेल्ने मौका पाएको हो ।
ललितपुर भने फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसंग खेल्नेछ ।