काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन जोड्दै भैरहवालाई मध्यम लक्ष्य दिएको हो । चितवनले दिएको १४० रनको मध्यम लक्ष्यसहित शरद भेषावकरको टिम भैरहवाले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चितवनको सम्मान जनक स्कोरमा दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङस खेले । दिपेन्द्र ५६ रनमा आउट भए ।

यस्तै चितवनका लागि पाउल स्टर्लिङ र जोन सिम्प्सन समान १४/१४ रन जोडे । कमल सिंह ऐरी १३ रनमा आउट भए ।
भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए ।
आज दुवै टोली जित निकाल्दै क्वालिफायरमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । र, दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं ललितपुर प्याट्रियट्ससंग १ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायरमा झरेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसंग खेल्नेछ ।
जारी लिगको प्रदर्शन हेर्दा चितवनभन्दा भैरहवा बलियो देखिएको छ । भैरहवा लिग चरणमा तेस्रो स्थानमा रहदै लिमिनेटरमा पुगेको हो । लिग चरणमा भैरहवाले ५ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।
यता, सुरुवाती ३ खेल गुमाएपनि अन्तिम दुई खेल जितेर चितवनले प्ले अफमा स्थान बनाएको हो । लिगमा ४ अंक जोडेको चितवन नेट रन रेटको आधारमा चौथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।
साविकको विजेता विराटनगर वारिवर्ससंग बराबरी अंक भएपनि चितवन रन रेटमा अघि भएको थियो । विराटनगर भने बाहिरिएको थियो ।
यस्तै भैरहवाविरुद्ध मैदान उत्रदा चितवन लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछन् ।