एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेलको टेष्ट सिरिज न्युजिल्यान्डले जितेको छ । युएईमा शुक्रबार तेस्रो तथा अन्तिम टेष्टमा पाकिस्तानलाई १२३ रनले हराउँदै न्युजिल्यान्डले सिरिज २ - १ ले जितेको हो ।
अबुधाबीमा न्युजिल्यान्डले दिएको २८० रनको लक्ष्यसहित दोस्रो इनिङ थालेको पाकिस्तानले ५६ ओभर १ बलमा अलआउट हुँदै १५६ रनमा समेटियो । पाकिस्तानका बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै सर्फराज अहमेदले २८ तथा इमाम उल हकले २२ रन जोडे । न्युजिल्यान्डका टिम साउथे, अजाज पटेल र विलियमले समरभिल्लेले समान ३/३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दोस्रो इनिङसमा ७ विकेटको क्षतिमा ३५३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका लागि केन विलियमसनले १३९ तथा हेनरी निक्होल्सले १२६ रनको योगदान दिए ।
पहिलो इनिङसमा न्युजिल्यान्डले अलआउट हुँदै २७४ रन जोडेको थियो । पाकिस्तानले भने पहिलो इनिङसमा ३४८ रनको योगफल तयार गरेको थियो । उसका अजर अलिले १३४ तथा अशाद साफिकले १०४ रनको योगदान दिएका थिए ।