काठमाडौं । टेष्ट राष्ट्र जिम्बावेका अलराउन्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट नखेल्ने भएका छन् ।
ईपीएलका लागि अनुबन्ध हुने पहिलो खेलाडी बनेका राजाले अन्तिम समयमा आएर नेपाल नआउने बताएका छन् । सामाजिक संजाल ट्वीटरबाट राजाले ईपीएल नखेल्ने बताएका हुन् । राजा गत भदौमा काठमाडौं किङसमा अनुबन्ध भएका थिए ।
राजाले ट्वीटबाट यस सिजन आउन नसकेपनि अर्को सिजन आउने बताएका छन् । यस्तै काठमाडौंलाई जितका लागि शुभकामना समेत दिएका छन् ।

राजाले ईपीएल नखेल्नुको कारण भने खुलाएका छैनन् । राजा हाल दक्षिण अफ्रीकामा जारी मजान्सी सुपर लिगमा व्यस्त रहेका छन् । उक्त लिग आगामी डिसेम्बर १६ सम्म चल्ने छ । लिगमा राजा रहेको स्पार्टन्स पुछारबाट दोस्रोमा रहेको छ।
राजा नआए पनि काठमाडौंले आयरल्याण्डका केभिन ओ ब्रुएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ । काठमाडौंले अब एक विदेशी खेलाडी अनुबन्ध गर्ने छ ।
ईपीएल यहि मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।