काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर जर्ज स्कटले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
ब्याट्सम्यान स्कटले आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा चितवन टाइगर्सबाट खेल्ने भएका हुन् । चितवनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै स्कटलाई अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार चितवनले स्कटलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
२३ बर्षीय युवा खेलाडी स्कटले १५ टी-ट्वान्टी खेलिसकेका छन् । स्कटले मिडलसेक्सबाट खेल्दै २ फस्ट क्लास र २ लिष्ट ए क्रिकेट खेलेका छन् ।
यसअघि चितवनले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङ र इंग्ल्यान्डकै विकेट किपर तथा ब्याट्सम्यान जोहन सिम्पसनलाई अनुबन्ध गरिसकेको छ ।