काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा आज (शुक्रबार) बेंगाल टाइगर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
सारजाहमा केरला र टाइगर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
साविकको विजेता समेत रहेको केरला जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । यस्तै टाइगर्स केरलालाई हराएर शीर्ष स्थानमा उक्लदै प्ले अफमा छनोट हुन चाहन्छ ।
केरला लिगको पुछारबाट दोस्रोमा छ । केरलाले पाँच खेलमा ३ खेल गुमाएर मात्र ३ अंक जोडेको छ । केरलाको प्ले अफ लगभग सकिएको छ । गणितीय सम्भावना मात्र रहेको छ ।
टाइगर्स भने ६ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । टाइगर्सको प्ले अफ सम्भावना बलियो रहेको छ ।
लेग स्पिनर सन्दीपले खराब बलिङ गरेपछि केरला बिहिबार नर्दन वारिवर्ससंग ८ विकेटले पराजित भएको थियो । त्यसअघि केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो ।
टाइगर्सविरुद्ध नेपालका लेग स्पिनर सन्दीपले सुरुवाती ११ मा स्थान बनाउने पक्का जस्तै छ । तर, पछिल्लो दुई खेलमा सन्दीपले खराब बलिङ गरिरहेका छन् ।
बिहिबार भएको वारिवर्सविरुद्धको खेलमा २ ओभर बलिङ गरेका सन्दीपले ४७ रन खर्चेर विकेट लिन असफल भए । त्यसअघि उनले लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।
सुरुवाती खेलमा भने सन्दीपले उच्च प्रदर्शन गरेका थिए । सन्दीपले ५ खेलमा ६ विकेट लिईसकेका छन् ।
यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।
दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।