काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्काको वरीयता खस्किएको छ ।
आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताको शीर्ष सय भित्र परेका कप्तान पारसको वरीयता तल झरेको हो । नेपालका सोमपाल कामीको वरीयता भने सुधार भएको छ ।
वरीयताको ब्याटिङतर्फ कप्तान पारस दुई स्थान तल झर्दै ९५ औं स्थानमा रहेका छन् । २६५ अंक पाएका पारस यसअघि ९३ औं स्थानमा रहेका थिए ।
यस्तै कप्तान पारस अलराउन्डरतर्फ शीर्ष ५० भित्र अटाएका छन् । पारसले ६८ अंकसहित ४१ औं स्थान हात पारेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४ औं स्थानमा छन् ।
बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका छन् । बसन्त ३९७ अंक प्राप्त गर्दै ७५ औं स्थानमा यथावत रहेको छन् । यस्तै ३३८ अंक जोडेका सोमपाल ९३ औं स्थानमा उक्लिएका छन् ।
आईसिसीको टी-ट्वान्टी ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, पाकिस्तानका फकर जमान चौथो र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पाँचौ स्थानमा रहेका छन्भा ।
बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहदा पाकिस्तानका शदाब खान दोस्रो स्थानमा रहेका छन् । भारतका कुलदीप यादव तेस्रो, इंग्ल्यान्डका आदील राशिद चौथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा रहेका छन् ।
अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहदा अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा रहेका छन् । यस्तै बंगलादेशका शाकिब अल हसन तेस्रो, दक्षिण अफ्रीकाका जेपी दुमिनी चौथों र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा रहेका छन् ।