काठमाडौं । पहिलो संस्करणको रोनाल्ड म्याकुली नेत्रहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा बर्दियालाई ५ विकेटले हराएर आर्मीले उपाधि जितेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
बर्दियाका लागि राम प्रसाद पौडेलले ३९ रन जोड्दा लिल चौधरीले २१ रन जोडे । आर्मीका भरत थापाले ३ तथा रमेश बानियाले २ विकेट लिए ।
बर्दियाले दिएको १५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले १६ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आर्मीका लागि शन्त बहादुर पहरीले ४४ रन जोड्दा रमेश बहादुर बानियाले ४१ रन जोडे । बर्दियाका महेश चौधरी र अरबिन छेत्रीले २ विकेट लिए ।
नेत्रहीन क्रिकेट संघ नेपालले आयोजना गरेको प्रतियोगिता खेलमा आर्मीका भरत थापा प्लेयर अफ दि टुर्नामेन्ट चुनिए ।