काठमाडौं। एक तर्फ उज्बेकिस्तान आफ्नै भूमिमा आफ्नै दर्शकबीच २२ वर्षपछि महिला एसियन कप पुग्ने अन्तिम सम्भावनाको ढोका खोल्न तयार छ।
अर्कोतर्फ नेपाल २६ वर्षदेखि अघोषित एक सपना बोकेर पहिलोपटक आफ्नो बाटो आफैं खोल्न खोज्दैछ।
अब अंकको कुनै अर्थ छैन। गोल अन्तरले केही परिवर्तन ल्याउने छैन। अब बाँकी रहेको एक खेल जसले जित्यो त्यसले इतिहास बनाउनेछ। हारेमा सबथोक फेरि शून्यबाट सुरुआत गर्नुपर्नेछ।
त्यसैले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाको समूह ‘एच’को अन्तिम खेलअघि उज्बेकिस्तानकी मुख्य प्रशिक्षक कोत्रिना कुलबाइटे अन्तिम खेलबारे सजग छिन्।
उनी भन्छिन्,‘अहिले हामी नेपालसँग बराबरीको स्थितिमा छौं। त्यसैले अन्तिम खेल बराबरीबाट जित्ने लक्ष्यका साथ सुरु हुनेछ।’
उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले पराजित गर्यो। तर, कोत्रिनामा कुनै आत्मसन्तुष्टि छैन। बरु एउटा चेतावनी छ। युद्ध त अब सुरु हुनै बाँकी छ।
‘७–० को नतिजा उत्कृष्ट हो, टिमलाई बधाई दिन चाहन्छु,” उनले भनिन्,‘तर अब जुन खेल आउँदैछ, त्यसमा हामीले बाँकी सबै कुरा भुल्नुपर्छ।” त्यो खेल नेपालविरुद्धको हो। त्यही नेपाल जसले उज्बेक टोलीको जति नै गोल गर्यो। उज्बेक टोलीजत्तिकै सहज ‘क्लिनसिट’ राख्यो।
अहिले उज्बेकिस्तानको मनोबल उच्च छ। तर, नेपाल पनि डराउने अवस्थामा छैन। त्यसैले कोत्रिना कुनै चुक गरिरहेकी छैनन्। उनी भन्छिन्,‘हामीले नेपालका दुवै खेलबारे गहिरो विश्लेषण गरिसकेका छौं। हाम्रो योजना स्पष्ट छ।’
कोत्रिना मैदानको कुरा मात्र गर्दिनन्। थकान र भावनात्मक नतिजाबारे उनको चिन्ता छ। उनी भन्छिन्,‘हामीले पहेँलो कार्डको अवस्थालाई पनि मूल्यांकन गर्नेछौं। हामी जित्न चाहन्छौं, तर सुझबुझका साथ।’
उनी जान्दछिन् यो खेल बल र कौशलको मात्र होइन, संयमता र साहसको पनि हो। जहाँ एक भूलले अस्ट्रेलिया जाने टिकट च्यात्न सक्छ। एक निर्णयले सपना बल्झाउन सक्छ।
उज्बेकिस्तानले नेपाललाई अहिलेसम्म पराजित गर्दै आएको इतिहास बोकेको छ। सन् १९९९ को पहिलो भेटमै नेपाल ६–१ ले पराजित भएको थियो। सन् २०१९ को नादेज्दा कपमा दुईपटक नेपालले हार बेहोर्न पर्यो। समूह चरणमा २–० को एकतर्फी जित निकालेको उज्बेकले फाइनलमा नेपाललाई ३–२ ले हराएर पहिलोपल्ट उपाधि जित्ने सपना चकनाचुर पार्दियो।
तर, अहिले धेरै थोक परिवर्तन भइसकेको छ। नेपालको कप्तानीमा सावित्रा भण्डारी छन्, जसले त्यस फाइनलमा दुई गोल गरेकी थिइन्। जारी प्रतियोगिता पनि उनी यस्तै सानदार लयमा छिन्।
दुई खेलमा लगातार ७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा उनी अग्रस्थानमा छिन्। अहिले प्रशिक्षक पनि नयाँ छन्। रणनीति पनि फरक छ। उज्बेकिस्तानको इतिहास बलियो हो। तर, नेपालमा अब अतितमा फर्किनेवाला छैन।
त्यसैले शनिबारको खेल प्रतिस्पर्धा मात्रै होइन, कथा हुनेछ। जहाँ एक पक्षले इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ, अर्को पक्ष इतिहास उल्ट्याउने पक्षमा। कोत्रिना भन्छिन्,‘ हामी बराबरीबाट सुरु गर्छौं। तर, बराबरीले पुग्दैन। नेपालले पनि जित्न चाहन्छ, हामी पनि। तर, अन्तमा एउटा मात्र अस्ट्रेलिया जान पाउनेछ।’
त्यसैले अब आँकडाले होइन, बलियो रणनीतिका साथ दुवै टोली मैदान उत्रिने समय आएको छ। जो मैदानमा बलियो देखिन्छ उसले नै अस्ट्रेलिया यात्रा सुनिश्चित गर्नेछ।