काठमाडौं । पहिलो संस्करणको रोनाल्ड म्याकुली नेत्रहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र बर्दियाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विराटनगरमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको लिग चरणको अन्तिम दुई खेलसंगै फाइनलमा पुग्ने दुई टोलीको तय भएको हो । फाइनल खेल शनिबार हुनेछ ।
सहिद रंगशालामा शुक्रबार भएको पहिलो खेलमा आर्मीले बर्दियालाई ५७ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६५ रन जोडेको थियो । आर्मीका लागि बद्रि चौलागाईले ३६ रन जोड्दा शन्त बहादुर पहरीले ३३ रन जोडे । बर्दियाका लिल चौधरीले २ विकेट लिए ।
आर्मीले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बर्दिया १२ ओभर ३ बलमा अलआउट हुँदै १०८ रनमा समेटियो । बर्दियाका राधेश्याम चौधरी र रुपलाल चौधरीले समान २४/२४ रन जोडे । आर्मीका रमेश बानियाले ४ तथा गीता पौडेलले ३ विकेट लिए ।
नेत्रहीन क्रिकेट संघ नेपालले आयोजना गरेको प्रतियोगिताको अर्को खेलमा म्याग्दीले झापालाई ५० रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको म्याग्दीले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन जोडेको थियो । म्याग्दीका लागि सुनिल रानाले अविजित १०३ रनको शतकीय इनिङस खेले । यस्तै बिनिता पुनले ३३ रन जोडिन । झापाका आकाश राई होमेद्र ढुंगेल र दिपेश गुरागाईले १/१ विकेट लिए ।
म्याग्दीले दिएको १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको झापा १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रनमा समेटियो । झापाका रबिन जिमीले ३४ रन जोड्दा दिपेश गुरागाईले २७ रन बनाए । म्याग्दीका सरिता घिमिरेले ३ विकेट झारिन ।