काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा पहिलो हार व्यहोरेको छ ।
साबिकको विजेता समेत रहेको केरला बिहिबार भएको खेलमा कराँचीयन्स (सिन्धिस) संग ९ विकेटले पराजित भएको हो ।
सारजाहमा केरलाले दिएको १०४ रनको लक्ष्य कराँचीयन्सले ७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
कराँचीयन्सको जितमा कप्तान सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङस खेले । यस्तै एन्टोन डेभिचले ४९ रन बनाए ।
कराँचीयन्सविरुद्ध लेग स्पिनर सन्दीपले १ विकेट लिए । तर, उनले टिमलाई जिताउन सकेनन् । आफ्नो पहिलो ओभार्मविकेट लिन असफल सन्दीपले आफ्नो दोस्रो ओभरमा डेभिचलाई पेभेलियन फर्काएका थिए ।
सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका हुन् । सन्दीपको चौथो विकेट हो । यसअघि सन्दीपले बिहिबार पख्तुनविरुद्ध ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केरलाले पुरै १० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । खराब सुरुवात गरेको केरलाका लागि वायन पार्नेलले अविजित ५९ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सोहिल तानभिरले २३ रन जोडे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । केरलाका क्रिस गेल, कप्तान इयान मोर्गन र केईरन पोल्लार्डसहित ४ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।
केरलालाई सस्तैमा समेट्न कराँचीयन्सका प्रभिन ताम्बेले मात्र १५ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । उनले पहिलो ओभरको चौथो, पाँचौ र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए ।
यो जितसंगै कराँचीयन्सले पहिलो जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा कराँचीयन्स राजपुट्ससंग १० विकेटले पराजित भएको थियो ।
यस्तै केरलाले भने पहिलो खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो ।
लिगमा २ खेलबाट २ अंक जोडेको केरला तेस्रो स्थानमा रहदा कराँचीयन्स २ अंक जोडेर चौथो स्थानमा छ ।