काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्सले नेपालको राष्ट्रिय महिला क्रिकेट टिमलाई प्रशिक्षण दिने भएका छन् ।
युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएको रोड्सले नेपाली महिला क्रिकेटरलाई समेत बिशेष प्रशिक्षण दिने भएका हुन् ।
दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर रोड्स 'राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स' कार्यक्रमका लागि नेपाल आएका हुन् । रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो ।
रोड्सले आगामी शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा महिला खेलाडीलाई प्रशिक्षण दिनेछन् ।
महिला क्रिकेट टिमका प्रशिक्षक राजु बस्न्यातले रोड्सले शनिबार एक दिन महिला टिमलाई प्रशिक्षण दिने र आफ्ना खेल जिवनका अनुभव खेलाडीसमक्ष राख्ने कार्यक्रम तय भएको जानकारी दिए ।
राष्ट्रिय महिला टिमका अधिकांश खेलाडीहरु अहिले राजधानी बाहिर रहेका छन् । प्रतियोगिताको मिति नजिकिएपनि महिला टिमको तयारी सुरु हुन सकेको छैन ।
नेपाली महिला टिमले आगामी जनवरीमा थाईल्याण्डमा टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै छ ।
प्रतियोगिता जनवरी ८ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसंगै, नेपाल, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, युएई, म्यानमार र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । आयोजक थाइल्याण्डको भने दुई टोली रहनेछ । आयोजकले १० टिमलाई दुई समूहमा विभाजन गरेको छ ।
दुई समूह शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । समूह 'ए'मा नेपालसंगै युएई, नामिबिया, मलेसिया र थाइल्याण्डको 'ए' टिम रहेको छ ।
नेपालले नाबिमियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै १३ जनवरीमा मलेसिया, १४ मा युएई र अन्तिम खेलमा नेपालले १६ जनवरीमा थाइल्याण्डको 'ए' टिमसंग खेल्नेछ ।