इटानगर (भारत)। नेपालविरुद्ध कीर्तिमानी जित निकाल्दै घरेलु टोली भारतले अपराजित रहँदै साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको खेल सक्काएको छ।
गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले ४–० को जित निकालेको हो। यु–१९ प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। अझ निर्धारित समयमा नतिजा आफ्नो पक्षमा पारेको यो नै पहिलोपल्ट हो।
यसअघि भएका दुवै भेटमा दुवै टोलीले पेनाल्टी सुटआउटमार्फत खेल जितेका थिए। सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा घरेलु टोली नेपालले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि नै हात पारेको थियो।
त्यसको आठ वर्षपछि अर्थात २०२३ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो भेटमा भने भारतले उसैगरी बदला लिँदै पेनाल्टी सुट आउटमा नेपाललाई ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो र उपाधि नै हात पार्यो। यी दुवै खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। तर, यसपल्ट भने नेपालविरुद्ध भारतले गोलको वर्षा गराएको हो।
यो नतिजासँगै समूह विजेता बनेको भारतले दुई खेलबाट ६ अंक बटुल्यो। भारतले पहिलो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।अब भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्ने छ। माल्दिभ्सले बंगलादेश र भुटानसँग समान २–२ को बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपालले भने बंगलादेशसँग खेल्ने भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो। भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह ‘ए’को विजेता बनेको थियो। भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरेका हुन्। नेपालले २७ मिनेटसम्म भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।
तर, अर्को मिनेटमै डिफेन्डरको गल्तीका कारण गोल खान पुगेको हो। एमएस थोक्छुमले दिएको क्रसलाई विफल बनाउन बक्सनजिक रहेका प्रशान्त मोक्तानले फ्रि हेडर गरेका थिए। तर, आफ्नै पोस्टतिर पुग्दा रोहिनले गोल गर्ने अवसर प्राप्त गरेका हुन्। उनलाई रोक्न सुवास बम पुगे पनि सफल हुन सकेनन्।
लगत्तै नेपाली डिफेन्डरले अर्को गल्ती गर्न पुगे। तालमेल नमिल्दा कप्तान राम थापाले दिएको ब्याक पास बल भारतका डानी मेथाईले खोसेका थिए।
उनले दिएको क्रसलाई सिक्स यार्ड बक्सनजिकबाट उमंगले गोलमा परिणत गरे। उनलाई रोक्न प्रशान्त नै पुगेका थिए। तर, ओमङले छक्याउँदै सहजै गोल गर्न सफल रहे।
७६औं मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। डानीले प्रहार गरेको बललाई गोलकिपर भक्तबहादुर परियारले विफल बनाएका थिए। तर, रिबान्डमा रोहनले सहजै गोल गरे।
८४औं मिनेटमा डानी आफैंले गोल गरे। सिंगामायुम सामीले प्रहार गरेको बललाई पुन: भक्तबहादुरले रोकेका थिए। रिबान्डमा डानीले सहजै जाली चुमाउँदै सानदार जित दिलाए।