काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायक फेरि अमेरिकाको पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
उनी सन् २०१६ देखि २०१९ सम्म यस पदमा थिए। तर, अमेरिका क्रिकेट बोर्डसँगको आन्तरिक विवाद राजीनामा दिएका थिए। त्यसपछि उनी तेस्रो कार्यकालका लागि पुनः नियुक्त भएका हुन्।
उनले क्यानडाविरुद्ध शनिबार फ्लोरिडामा हुने घरेलु एकदिवसीय त्रिकोणात्मक शृंखलाबाट आफ्नो जिम्मेवारी सुरूआत गर्नेछन्।
अमेरिका क्रिकेटले बुधबार फ्लोरिडामा पत्रकार सम्मेलन आयोजना गर्दै दसानायकलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
उनले हालसम्म अन्तरिम प्रशिक्षकको भूमिकामा रहेका विन्सेन्ट विनय कुमारको स्थान लिनेछन्। कुमारलाई स्टुअर्ट ललाई अक्टोबर २०२४ मा बर्खास्त गरेपछि केही शृंखलाका लागि अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी दिइएको थियो।
हालसालै दसानायक ओमानको सल्लाहकार प्रशिक्षकको रूपमा कार्यरत थिए। उनी यसअघि २०२४ को टी-२० विश्वकपपछि क्यानडाको प्रशिक्षकको दोस्रो कार्यकाल सकिएपछि उक्त भूमिकामा थिए।
उनले क्यानडाको दुईपटक र नेपालको समेत दुईपटक प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। अब उनी दोस्रोपटक अमेरिका टिमको जिम्मेवारी सम्हाल्न फर्कंदै छन्।