काठमाडौं। क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले मंगलबार पोर्चुगलको यु–१५ टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। जापानविरुद्धको खेलमा पोर्चुगलले ४–१ को सहज जित हासिल गर्यो।
ब्रागाका राफाएल काब्रालले ह्याट्रिक गर्दै पोर्चुगललाई ३–० ले अगाडि बढाएका थिए। त्यसपछि ५४औं मिनेटमा रोनाल्डो जुनियर मैदानमा प्रवेश गरे। ‘पोर्चुगलबाट तिम्रो डेब्युको लागि बधाई छ छोरा। म तिमीप्रति धेरै गर्वित छु,’ रोनाल्डोले सामाजिक सञ्जालमा लेखे।
१४ वर्षीय रोनाल्डो जुनियर साउदी अरबको अल–नासर क्लबको एकेडेमीमा स्ट्राइकरको रूपमा खेल्छन्। यो खेल क्रोएशियामा आयोजना भइरहेको भ्लात्को मार्कोभिच अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत पोर्चुगलको यु–१५ टोलीले खेल्न लागेको चार खेलमध्ये पहिलो थियो।
अब पोर्चुगलले बुधबार ग्रीससँग र शुक्रबार इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने आइतबार अन्तिम खेल खेल्नेछ। यो टोलीको भने टुंगो लाग्न बाँकी छ।