इटानगर (भारत)। नेपालले साफ यु–१९ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध खेल्ने भएको छ।
गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतसँग ४–० को हार बेहोरेसँगै नेपालले सेमिफाइनलमा बंगलादेश प्रतिद्धन्दी पाएको हो।
यो नतिजासँगै समूह विजेता बनेको भारतले दुई खेलबाट ६ अंक बटुल्यो। भारतले पहिलो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। अब भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्ने छ। माल्दिभ्सले बंगलादेश र भुटानसँग समान २–२ को बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपालले भने बंगलादेशसँग खेल्ने भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो। भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह ‘ए’को विजेता बनेको थियो।