काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगका लागि रुस्लान थ्री स्टार क्लबले तीन नयाँ खेलाडी अनुबन्धन गरेको छ ।
ललितपुरे क्लब थ्री स्टारले घरेलु फुटबलका दुई युवा खेलाडी सहित एक एसियन कोटामा भारतका एक खेलाडी अनुबन्धन गरेको हो ।
थ्री स्टारले अनुबन्धन गरेको खेलाडीमा भारतको मिजोरम जिल्लास्थित मिजोरम फुटबल संघका कप्तान लालरम्बाविया तथा घरेलु फुटबलका युवा खेलाडी संजोक राई र निशान खड्का रहेका छन् । संजोक र निशानले गत सिजन च्यासलबाट खेलेका थिए ।
मिजोरममा लिग सकिए लगत्तै लालरम्बाविया थ्री स्टारमा अनुबन्धित भएका हुन् ।
संयोक र निशान कारबाही फुकुवा हुँदै घरेलु फुटबलमा फर्किएका हुन् ।
गत सिजन दुवै खेलाडी च्यासलमा अनुबन्धित भएका थिए । तर दुवै खेलाडी अर्को क्लब झापा ११ बाट मोफसलको प्रतियोगिता खेल्न पुगेका थिए ।
सोही कारण अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीलाई ६ महिना फुटबल गतिविधिबाट निलम्बन गरेको थियो ।
‘सानो गल्तिको कारण ६ महिना फुटबलबाट टाढिनु पर्दा धेरै पिडा भएको छ । आधा लिग समेत गुमाउन पुगियो । गल्तिले धेरै पाठ सिकाएको छ ।’
संजोकले भने, ‘नयाँ सिजनका लागि नयाँ क्लब रोजेका छौ । कडा भन्दा कडा मेहेनत गरेर टिमलाई जिताउने प्रयास गर्नेछौ ।’
थ्री स्टारले तीन जनै खेलाडीलाई शनिबार हुने मनाङविरुद्वको खेलमा मैदान उतार्ने तयारी गरेको छ ।
प्राय स्टार खेलाडीले भरिने थ्री स्टारले चालू सिजनमा खासै ठुला खेलाडी अनुबन्धन गरेको छैन । थ्री स्टारमा रहेको राष्ट्रिय टिमबाट खेलेका खेलाडी समेत च्यासल र मछिन्द्र लागेका छन् ।
थ्री स्टारमा राष्ट्रिय टिमका बिक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङ मात्र रहेका छन् ।
सोही कारण लिगमा थ्री स्टारले खासै ठुलो चुनौती दिन सकेको छैन । उसले ६ खेलको समाप्तिमा ३ जित, २ हार र १ बराबरी खेल्दै १० अंक जोडेको छ । थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ ।