काठमाडौं। ऋतुपोर्णा चक्माको दुई गोलसँगै बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार याङगुनको थुवुन्ना रंगशालामा भएको समूह ‘सी’ को दोस्रो खेलमा बंगलादेशले म्यानमारलाई २–१ ले स्तब्ध पारेको हो।
यो जितसँगै बंगलादेश २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थान कायम छ। अब शनिबार समूह चरणको अन्तिम खेलमा तल्लो वरीयताको तुर्कमेनिस्तानविरुद्ध खेल्नेछ।
अर्कोतर्फ म्यानमारको ३ अंक छ। अब उसले शनिबार बहराइनसँग खेल्नेछ।
फिफा वरीयतामा ७३ स्थानले माथि रहेको म्यानमारविरुद्ध बंगलादेशले पहिलो हाफमै अग्रता लिएको थियो। १९औं मिनेटमा ऋतुले आफैंले हानेको फ्रिकिकको रिबाउन्डमा उत्कृष्ट शैलीमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्।
खेलभर म्यानमारले बराबरी खोज्ने प्रयास गरेको थियो। तर, ७२औं मिनेटमा ऋतुले नै पुनः बायाँ कुनाबाट फिनिसिङ गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध तुल्याइन्। म्यानमारले अन्तिम समयतिर ८९औं मिनेटमा विन विनले गरेको हेड गोलमार्फत एक गोल फर्काएको थियो। तर, बंगलादेशले आफ्नो अग्रता जोगाउँदै खेल जित्यो।
हालसम्म एएफसी महिला एसियन कपमा कहिल्यै सहभागी नभएको बंगलादेशका लागि यो ऐतिहासिक उपलब्धिको सिढी बनेको छ।
बंगलादेश महिला टोलीले २०१४ र २०२२ को छनोट चरणमा भाग लिएको थियो। तर, दुवै संस्करणमा ५ खेलमा हार बेहोरेको थियो। ती खेलमा २५ गोल खाँदै १ गोल पनि फर्काउन सकेको थिएन।