काठमाडौं। नेपाललाई एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न बराबरीको नतिजा पर्याप्त नहुने भएको छ।
बुधबार सम्पन्न समूह ‘एफ’को दोस्रो खेलमा घरेलु टोली उज्बेकिस्तानले लाओसलाई ७–० ले हराएसँगै खेल जटिल मोडमा पुगेको हो। नेपालले पनि बुधबार नै भएको खेलमा श्रीलंकामाथि ८–० को जित दर्ता गरेको थियो।
योसँगै अपराजित रहेका नेपाल र उज्बेकिस्तानले समान २ खेलबाट ६ अंक पुर्याएका छन्। दुवै टोलीको गोलअन्तर पनि समान १७ रहेको छ। लाओस र श्रीलंका भने एक अगाबै प्रतियोगिताबाट बाहिरिएका छन्।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। उज्बेकिस्तानले भने श्रीलंकामाथि १०–० को जित निकालेको हो। एएफसीको नियमअनुसार दुई टोलीको समान अंक र गोल भएमा अस्ट्रेलिया पुग्ने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिने छ।
अंक, गरेको गोल र खाएको गोलको मूल्यांकन गर्दै शीर्ष स्थानको निर्धारण गरिन्छ। तर, सबै पक्षमा समान भए सिधै पेनाल्टी सुटआउटबाट एसियन कपमा पुग्ने टोलीको निर्धारण गरिने छ।
यदि शनिबार उज्बेकिस्तान र नेपालबीच हुने खेल बराबरीमा सकिना साथ पेनाल्टी सुटआउटमा जाने छ। त्यसैले यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।