काठमाडौं। राउल हिमेनेजको निर्णायक गोलसँगै मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको सेमिफाइनलमा मेक्सिकोले होन्डुरासलाई १–० ले पराजित गर्दै उपाधि भिडन्तमा अमेरिकासँग भेट्ने पक्का गरेको हो।
५०औं मिनेटमा १६ वर्षीय गिल्बर्टो मोराको पासमा हिमेनेजले दायाँ खुट्टाले उत्कृष्ट फिनिश गरे। मोराले एलेक्सिस भेगाबाट बल लिएर बाकसभित्र पास गरेका थिए, जसलाई हिमेनेजले गोलमा परिणत गर्दै आफ्नो अन्तर्राष्ट्रिय करियरको ४२औं गोल पूरा गरे।
यस जितसँगै मेक्सिकोले आइतबार ह्युस्टनमा हुने फाइनलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। दुई देशबीच यो आठौं पटक गोल्ड कपको फाइनल भिडन्त हुनेछ। अहिलेसम्म मेक्सिकोले ५ जित र अमेरिकाले २ जित निकालेका छन्।