एजेन्सी । अष्ट्रेलियाको फ्रेन्चचाइज लिग बिग बास लिग (बीबीएल) ले पुन: नेपाली तथा मेलवर्न स्टार्सका समर्थक र खेलाडीलाई उत्साहित बनाएको छ । कारण हो, गत संस्करणका सर्वाधिक 'अट्राक्सन' पाएका खेलाडी सन्दीप लामिछाने ।
सन्दीप बीबीएल खेल्ने एसोसियट राष्ट्र तथा नेपालको पहिलो र एक्ला खेलाडी हुन्
डेब्यु सिजन सन्दीपले बीबीएल खेल्दा उनको खेल हेर्न नेपाली समर्थकको ठुलो जमात नै मैदानमा पुगेका थिए ।
गत सिजन नेपालको झण्डा र मेलवर्नको जर्सी लगाएका दर्शकहरुको बाक्लो उपस्थिति मेलवर्नको हरेक खेलमा देखिन्थ्यो । मैदानमा रहेका सन्दीपको समर्थनमा रहेका नेपालीले 'स्याण्डी स्याण्डी' भन्दै हुटिङ्ग गरेको भिडियोले त सामाजिक संजाल समेत तताएको थियो ।
एक त अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या थुप्रै रहेको छ । नेपाल र नेपाली खेलाडीले खेलेको खेल हेर्न जहाँ पनि पुग्ने नेपाली समर्थक सन्दीपको खेल हेर्न मैदान नपुग्ने कुरै थिएन् । नेपाली समर्थक मात्र नभएर सन्दीपका थुप्रै विदेशी समर्थक समेत मैदान पुग्ने गरेका थिए ।
सन्दीप र मेलवर्नको यस्तो समर्थक देखेर सारा बीबीएलमा सन्दीपको ठुलै चर्चा भएको थियो । समर्थक मात्र नभएर सन्दीपको प्रदर्शन समेत निकै उत्कृष्ट रहेको थियो ।

यस पटक पनि नेपाली ग्लोबल आइकन सन्दीपलाई मेलवर्नले पुन: अनुबन्धन गरेको छ । र, सन्दीपले यस पटकको बीबीएलमा पुरै सिजन बिताउने छन् ।
पहिलो सिजनमा नै सन्दीप सर्वाधिक रुचाएका खेलाडी थिए । ८ खेलमा ११ विकेट हात पारेका सन्दीप सुरुवाती समयमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा समेत रहेका थिए ।
तर, गत सिजन सन्दीपले बीबीएलका केहि खेल गुमाएका थिए । बीबीएल भन्दा पहिले बंगलादेश प्रिमियर लिगमा अनुबन्ध सम्झौता गरेको कारण उनले बीबीएलका केहि खेल गुमाउनु परेको थियो । बंगलादेशपछि पुन: मेलवर्नबाट खेल्दै सन्दीपले टिमलाई फाइनलसम्म पुर्राएका थिए । तर, फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित हुँदा सन्दीपले पहिलो अन्तराष्ट्रिय फेन्चाइज लिग जित्ने अवसर गुमाएका थिए ।
यस पटक भने सन्दीपले पुरै सिजन बीबीएलमा रमाउने छन् । सन्दीपले पुनः मेलवर्नबाट खेल्ने भएपछी उनका समर्थक मात्र हैन मेलवर्नका अफिसियल, प्रशिक्षक, म्यानेजर र खेलाडी समेत उत्साहित बनेका छन् ।
अघिल्लो सिजन आफ्नो सपनाको लिगमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाड्न सफल भएका थिए ।
अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सन् २०१६ मा आफ्नो क्लब वेष्टर्न सवर्वमा खेल्न सन्दीपलाई निमन्त्रणा गरेका थिए । सो क्लबबाट खेलेसँगै सन्दीपको चर्चाको शिखर चुलिएको थियो ।
त्यस समय पत्रकारहरुले क्लार्कसंगै उभिएका सन्दीपलाई प्रश्न गरेका थिए, 'तपाईको सपना के हो ?'
सन्दीपले मुस्कुराउँदै जवाफ दिएका थिए कि 'बिग बास खेल्नु' । त्यसको ठिक २ वर्षपछि सन्दीपले मेलवर्नबाट डेब्यु गरे ।
अघिल्लो सिजनको प्रदर्शनबाट खुशी देखिएका मेलवर्नका मुख्य प्रशिक्षक डेभिड हस्सीले सन्दीपको खुलेर प्रशंसा गरेका छन् । उनले विश्व क्रिकेटमा सन्दीप क्षमतावान खेलाडी रहेको र उनले जुनै स्थितिमा पनि बलिङ गर्न सक्ने क्षमता रहेको बताएका छन् ।
'अघिल्लो वर्ष सन्दीपले अद्भुत प्रदर्शन गरेका थिए । उनले यस बिचमा थप सुधार गरेका छन्,' हस्सीले भने, 'सन्दीपसँग ओपनिङ, मिडल र डेथ ओभर जुनै समय पनि बलिङ गर्ने क्षमता छ ।'

यस्तै टिमका म्यानेजर ट्रेन्ट वुडहिलले सन्दीपको अनुबन्धनको खबर मेलवर्नको लागि मात्र नभएर पुरा बीबीएलको लागि उत्साहितको खबर रहेको बताएका छन् ।
'सन्दीपलाई पुन:अनुबन्धन गर्न पाउँदा हामी निकै उत्साहित छौं ।' वुडहिलले भने, 'युवा, फुर्तिला र क्षमताले भरिपूर्ण खेलाडी हुन सन्दीप।'
सन्दीप विश्वका ठुला लिगमा व्यस्त हुने खेलाडी भएका कारण मेलवर्नले पुरै सिजनका लागि अनुबन्धन गर्न पाउनु सानो कुरा नरहेको वुडहिलको भनाई छ ।
'सन्दीप गत सिजन समर्थकका लागि समेत रुचाईएका खेलाडी रहेका थिए ,' उनले थपे, 'त्यसैले समर्थकले समेत अब पुरै सिजन उनीबाट रमाइलो लिन पाउनेछन् ।'
सन्दीपले पनि आफु मेलवर्नमा पुन: जोडिन पाउनु निकै खुसीको कुरा रहेको बताएका छन् । यस्तै मेलवर्नबाट खेल्न निकै आतुर रहेको समेत बताए ।
'गत वर्ष निकै रमाइलो भएको थियो र धेरै कुरा सिक्ने मौका पाएको थिएँ । आउने सिजनको लागि निकै उत्साहित र आतुर छु । मेलवर्नका समर्थक विशेषत नेपली समर्थकको न्यानो मायामा यस वर्ष पनि बाँधिन आतुर छु,' सन्दीपले भनेका छन् ।
सन्दीपले गत सिजन कुनै पनि खेलमा बेन्चमा बस्नु परेन । उनी उपस्थिति नभएको अवस्थामा मात्र क्लबले सन्दीपको बिकल्प खोजेको थियो । त्यसैले त यस सिजन मेलवर्न र सन्दीपका समर्थकहरु बीपीएलको बेग्र प्रतिक्षामा छन् ।
