काठमाडौं । नेपाल श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
कोलम्बोमा नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा कप्तान अकबर अलीले अविजित रहदै ९८ रनको योगदान दिए । यस्तै तोहिद हृदोयले ६० तथा सामिम होसेनले अविजित ४२ रन बनाए । हसन जोयले ४० रन बनाए ।
नेपालका कमल सिंह ऐरीले २ विकेट लिए । यस्तै राशिद खान र हरि बहादुर चौहानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । पवनले १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।
बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २/२ विकेट लिए ।
नेपाललाई पराजित गरेसँगै बंगलादेशले समूह 'बी' बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल तेस्रो स्थानमा रहेको छ ।

यस समूहबाट श्रीलंकाले पनि सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार नै भएको खेलमा श्रीलंकाले युएईलाई ५२ रनले हराएको छ । श्रीलंकाले २ खेलबाट ४ अंक जोडेको छ ।
अब नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ ।
समूह 'ए' बाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।
