काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कोलम्बोमा नेपालले दिएको २६२ रनको लक्ष्यसहित बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ । र, बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका हरि बहादुर चौहानले बंगलादेशका ममुदल हसन जोयलाई ४० रनमा आउट गरे ।
तेस्रो विकेट गुमेसँगै बंगलादेशले ३२ ओभरको खेल सकिदा ३ विकेट गुमाएर १३२ रन जोडेको छ । नेपालको कसिलो बलिङसामु बंगलादेश रन जोड्न संघर्षरत रहेको छ ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । पवनले १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।
बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २/२ विकेट लिए ।