काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले जितका लागि टेष्ट राष्ट्र बंगलादेशलाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो ।
नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । पवनले १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।
बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २/२ विकेट लिए ।

आज नेपाल बंगलादेशलाई हराउने लक्ष्यसहित मैदान उत्रिएको छ ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।
