काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि केन्द्रीय निर्वाचन असोज पहिलो साता हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिले केन्द्रीय निर्वाचन असोज पहिलो साता गर्ने निर्णय गरेको छ ।
कमिटिका सदस्य एलबी क्षेत्रीले केन्द्रीय निर्वाचन असोज ३ र ४ गते हुने खेलपाटीलाई जानकारी गराए । प्रादेशिक क्रिकेट संघको निर्वाचन शनिबार सकिएसँगै कमिटीले केन्द्रीय निर्वाचन गर्न लागेको हो ।
केन्द्रीय निर्वाचनबाट क्यानको नयाँ १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन् । बाँकी १३ जना सदस्य हुनेछन्।
क्यानको केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ। निर्वाचनमा ५९ जनाले मत हाल्न पाउने छन्। निर्वाचनमा जिल्लाबाट १-१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० जनाले भोट हाल्नेछन् ।
क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आईसीसीले नेपालमाथि लगाएको निलम्बन फुकुवाको तयारी गर्नेछ । क्यानको निर्वाचनबारे आईसीसी अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्नेछ ।
अवैधानिक चुनाव र सरकारी हस्तक्षेपकाे कारण देखाउँदै २०७३ सालको वैशाखमा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।