काठमाडौं । भारोत्तोलन प्रशिक्षक स्व. शकिल हलवाइका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
भारोत्तोलन प्रशिक्षक तथा खेलाडी परिवारले संयुक्त रुपमा रकम संकलन गरी स्व. हलवाइका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । त्यसका लागि ललितपुर जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष राजीव खड्गीले पहल गरेका थिए ।
हलवाइको गत बैशाख २३ गते कोरोना भाइरस (कोभिड– १९) का कारण निधन भएको थियो । स्व. हलवाइ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारोत्तोलन टिमको प्रशिक्षक मध्ये एक हुन् ।
स्व. हलवाइका परिवारलाई ३६ हजार नगद प्रदान गरिएको उपाध्यक्ष खड्गीले जनाएका छन् । त्यस्तै भारोत्तोलनका पहिलो पुस्ताका खेलाडी मध्येका एक स्व. नवराज कैनीको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष खड्गीले जानकारी गराए ।