काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान र पुरस्कार वितरण गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियन कास्य पदक विजेता खेलाडीहरुलाई जनही एक लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।
त्यस्तै असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँले सम्मानित गरिएको छ ।
उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था बमोजिम असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।
साथै असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरेका थिए ।