काठमाडौं। नेपालले साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमै फराकिलो अग्रता लिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपालले ३–० को अग्रता हासिल गरेको हो।
नेपालका सेनु परियारले २ र पूर्णीमा राईले १ गोल गरिन्।
खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। भुटानी डिफेन्डरको फितलो क्लियरेन्स गर्दा अनिशा राईको खुट्टैमा बल पुगेको थियो।
उनले अनमार्क रहेकी सेनुतर्फ बल पुर्याएकी थिइन्। सेनुले बक्सभन्दा बाहिर आइसकेकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै गोल गरिन्।
१८औं मिनेटमा पूर्णीमाले अग्रता दोब्बर बनाइन्। वर्षा ओलीले सेकेन्ड बारतर्फ दिएको क्रस बललाई उनले गोल लाइनबाटै जाली चुमाइन्।
४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। पूर्णीमाले दिएको बललाई उनले भुटानी डिफेन्डरलाई छक्याउँदै सिक्स यार्ड बक्सनजिकबाट गोल गरिन्। योसँगै नेपालले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।