नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर
-1776739058950.jpeg&w=3840&q=75)
काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल ‘गर या मर’ को अवस्थामा उत्रिँदैछ।
टी–२० आई सिरिज जोगाउन दोस्रो तथा अन्तिम खेलमा नेपालले भ्रमणकारी टोली युएईसँग खेल्दैछ। खेल साँझ ५ बजे सुरु हुनेछ।
यो खेलमा घरेलु टोलीलाई जितबाहेक अर्को विकल्प छैन। पहिलो खेलको हारले नेपाललाई दबाबमा परेको छ। वर्षाले छोट्याएको खेलमा ७८ रनको सामान्य लक्ष्य पनि जोगाउन नसक्दा नेपाल ६ विकेटले पराजित भएको थियो। त्यो नतिजाले अबको खेललाई झन् निर्णायक बनाएको छ।
आजको खेल नेपालका लागि बराबरीका लागि मात्र होइन, आत्मविश्वास फर्काउने अवसर पनि हो। घरेलु मैदानमा समर्थकको साथ पाउँदा पनि प्रदर्शन सुधार्नु चुनौतीकै विषय बनेको छ।
पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए। उनले ३५ बलमा चौका ३ प्रहार गरे।
उनले यसै खेलमार्फत कप्तानीमा डेब्यु गरेका छन्। यसअघि उनी टोलीका उपकप्तान थिए। तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएपछि कप्तानी जिम्मेवारी ऐरीले पाएका हुन्।
कुशल मल्ल १७, कुशल भुर्तेल १६, बसीर अहमद १४, अर्जुन साउद १३ र नन्दन यादव १३ रनमा आउट भए। अन्य ब्याटरको प्रदर्शन खास रहन सकेन।
युएईका मुहम्मद जुहेवले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। जुनेद सिद्दिकीले २ र हैदर अलीले १ विकेट थपे। तर, वर्षाका कारण खेल रोकिँदा युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो।
उक्त लक्ष्य युएईले ७ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो। युएईका कप्तान मुहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए। १५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
उनले पहिलो ओभरमा हेमन्त धामीलाई दुई चौका र दुई छक्कासहित २० रन प्रहार गरेका थिए। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सर्वाधिक २७ विकेट लिएका उनले यसै खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेका हुन्।
अलिशान सराफु १८ रनमा आउट हुँदा आकाशदीप नाथ १७ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले ८ रन खर्चिए। कुशल मल्लले १ विकेट राखे।
त्यसैले युएई भने पहिलो खेलको जितलाई निरन्तरता दिँदै सिरिज जित्ने योजनामा छ। यो टोली आत्मविश्वासका साथ मैदान उत्रनेछन्। यसले नेपालका लागि चुनौती अझ कठिन बनाउने पक्का छ।





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)