काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले फ्रेन्ड्स क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा च्याम्पियन बनिसकेको मनाङ र फ्रेन्ड्स जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
तुलनात्मक कमजोर टिम फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा मनाङ कीर्तिमानसहित ट्रफी उचाल्ने लक्ष्यमा हुनेछ । रेलिगेसन बिनाको लिगमा मनाङले दुई खेल अगावै उपाधि उचालेको थियो । तर, मनाङ अन्तिम खेलमा फ्रेन्ड्सलाई हराएर कीर्तिमान बनाएर उपाधि उचाल्न चाहन्छ ।
फ्रेन्ड्सलाई पराजित गरे मनाङले लिगको सबै १३ खेल जितेर लिगको उपाधि उचाल्ने क्लबको कीर्तिमान बनाउनेछ । लिगको १२ औं चरण सकिदा मनाङले ३६ अंक जोडेको छ । अहिलेसम्म हार र बराबरीको स्वाद नपाएको मनाङले फ्रेन्ड्सलाई हराए उसको ३९ अंक हुनेछ ।
यता, फ्रेन्ड्स भने मनाङविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । मनाङलाई हराएर फ्रेन्ड्स ऋण अंकबाट मुक्त हुन चाहन्छ । लिगको पुछारबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्सको ९ अंक छ । ऋण अंकबाट मुक्त हुन फ्रेन्ड्सलाई कम्तिमा बराबरी अथवा कम गोल अन्तरको हार आवश्यकता रहेको छ ।