काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति बेल्जियमले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो ।
बेल्जियमलाई जित दिलाउन केभिन डे ब्रुएन र मिची बात्सुआईले एक एक गोल गरे ।
वेल्सका किफेर मोरेले एक गोल फर्काए ।
खेलको दशौँ मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा ब्रुएनकै असिस्टमा बात्सुआईले गोल गर्दा बेल्जियमको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ५० औं मिनेटमा मोरेले एक गोल फर्काएपनि वेल्स २-१ ले पराजित भयो ।
यस्तै खेलको इन्जुरी समयमा बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रातो कार्ड पाएका थिए ।
यस जितसँगै लिग ए समूह ४ को बेल्जियमले ५ खेलमा १० अंक जोडेको छ ।
बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।
वेल्स १ अंक जोडेर पुछारमा रहेको छ ।