काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने प्रस्ताव अस्वीकार गरेको छ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ) का उपाध्यक्ष फाहाद करिमका अनुसार श्रीलंकाले बंगलादेश र नेपाललाई आफ्नो घरेलु मैदानमा थ्री नेसन्स कप खेल्न आउन आमन्त्रण गरेको थियो। तर, एन्फाले श्रीलंकामा खेल्न अस्वीकार गरेको हो।
श्रीलंकाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्ला अल्मुताइरी छन्। उनले नेपाललाई ३८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपल्ट पुर्याएका थिए। तर, एन्फाका हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको मदभेदपछि उनले नेपाली टोली छाडेका थिए।
नेपालले अगामी सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। बंगलादेश फिफा वरीयतामा नेपालभन्दा ८ स्थान तल रहेको टोली हो।
नेपाल १७६औं स्थानमा छ। बंगलादेश भने १८४औं स्थानमा छ। नेपालले सन् २०२३ नोभेम्बरपछि पहिलोपल्ट पुरुष अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्न लागेको हो।
मार्च २०२४ मा एएफसीले दशरथ रंगशालालाई सुरक्षा र पूर्वाधारमा कमजोरी रहेको ठहर गरेको थियो। त्यसयता नेपालमा अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन।
नेपालले मार्चमा एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु मैदानमा मलेसियासँग खेल्नुपर्ने थियो। तर, मैदानकै कारण उक्त खेल मलेसियामा सारिएको थियो।
अब नेपाललले अक्टोबर १४ मा भियतनामसँग खेल्ने अर्को तालिका छ।