काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार सहज जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।
जितपछि आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने खुसी देखिए । उनले चाहिएको ३ अंक पाएको बताए ।
'अगाडी बढ्न तीन अंक महत्वपूर्ण थियो । हामीले ३ अंक पायौं,' उनले भने, 'समयमै स्कोर गर्यौं । त्यसपछि खेलाडीले सहज खेलेको जस्तो गर्यो र फ्रेन्ड्सले हामीलाई धेरै दबाब दियो ।'
प्रशिक्षक न्यौपानेले खेलाडीले एकै स्तरमा खेल्न नसक्दा फराकिलो गोल नभएको समेत बताए ।
'एकै स्तरमा खेल्न सकेको भए आज धेरै गोल निस्कन्थ्यो । हामीले मौका पनि पाएको हो । फ्रेन्ड्सले पनि राम्रो मौका पाएको थियो विकेशले राम्रो बचाउ गर्यो । समग्रमा ३ अंक आवश्यक थियो त्यो पायौं,' उनले थपे ।
यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।
फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।