काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत चौंथो चरणका खेलहरु सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार काठमाडौं रेजर्स एफसी र बुटबल लुम्बिनी एफसीबिचको खेलसँगै चौंथो चरण सकिएको हो ।
प्रतियोगितामा अब दुई चरणको खेल मात्र बाँकी रहेको छ । अब सहभागी ७ टिमले २/२ खेल खेल्न बाँकी रहेको छ ।
लिग चरणको समाप्तिपछि शीर्ष चारले प्लेअफमा स्थान बनाउने छन् । लिग चरणको २१ सहित प्लेअफ, इलिमिनेटर र फाइनल गरि प्रतियोगितामा कुल २५ खेल हुनेछ ।
लिग चरणको दुई खेल बाँकी रहँदा अंक तालिका समेत रोमाञ्चक बन्दै गएको छ । पछिल्लो नतिजा अनुसार शीर्ष पाँच भित्र रहेका टोलीलाई प्लेअफमा स्थान बनाउने सुनौलो अवसर छ ।
यस्तै पुँछारमा रहेका एफसी चितवन र ललितपुर सिटी एफसीले भने केहि संघर्ष गर्नु पर्नेछ । यी दुई टोलीले अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्नेछ ।
अंक तालिकाको शीर्ष तीनमा रहेका विराटनगर सिटी एफसी, धनगढी एफसी र काठमाडौं रेजर्सको भने प्लेअफ सम्भावना बलियो रहेको छ । समान ७ अंक भएका तीन टोली क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
यस्तै बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सको समान ५-५ अंक रहेको छ । तेस्रो चरणमा एक आपसमा भिडेका दुबै टोलीले गोलरहित बराबर खेल्दै अंक बाढेका थिए । लुम्बिनी चौथो र पोखरा पाचौं स्थानमा छन् । दुबै टोलीको लक्ष्य समेत शीर्ष ४ पक्का गर्नु रहेको छ ।
खराब लयमा रहेका चितवन र ललितपुर भने बाँकी खेलमा सुधारिएको खेल प्रदर्शन गर्दै जित निकाल्न चाहन्छन् । अबका खेलमा दुबै टोली गर या मरको स्थितीमा हुनेछन् । बाँकी रहेको खेल मध्ये एक खेलमा मात्रै पराजित भएको खण्डमा दुबै टोलीको प्लेअफ पुग्ने सम्भावना सकिनेछ ।
बुधबारबाट पाँचौ चरणका खेलहरु सुरु हुँदैछ । पाँचौ चरणको पहिलो खेलमा धनगढीले पोखराको सामना गर्नेछ ।