काठमाडौं। भुटानले एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा सोमबार सिंगापुरलाई ३–२ ले पराजित गर्दै सानदार पुनरागमन जित निकालेको छ।
अब भुटानले बिहीबार लेबननसँग प्रतिस्पर्धा गर्नेछ भने सिंगापुरले इरानको सामना गर्नेछ। खेलको सुरुआतमै भुटानले अग्रता लिएको थियो। पहिलो मिनेटमै सिंगापुरको रक्षापंक्तिबाट क्लियर नभएको बललाई येशे बिधाले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
तर, सिंगापुरले नवौं मिनेटमा खेल बराबरीमा ल्यायो। नुर फरहानाह रुहाइजतले अफसाइड ट्र्याप प्रहार गरेको लो शटलाई भुटानी गोलकिपर संगिता मङ्गरले रोकेकी थिइन्। तर, रिबाउन्डमा अर्ध्रा गणेश्वरनले सजिलै गोल गर्दै स्कोर १–१ बनाइन्।
२६औं मिनेटमा सिंगापुरले अग्रता लियो। डोर्जी एडोनको ब्याक पासलाई संगिताले मिस कन्ट्रोल गरिन् र बल सिधै खाली पोस्टतिर गयो र गोलमा परिणत भयो।
६७औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो। सोनम छोडेनको कर्नर बलमा डोर्जी एडोनले हेडर गर्दै गोल गरिन्।
खेलको अन्तिम समयतिर भुटान अझ आक्रामक भयो। ८७औं मिनेटमा विजयी गोल निकाल्यो। धेकी ल्हाजोमको लामो प्रहार क्रसबारमा लागेर फर्किएको थियो। जसलाई सुनिता राईले सही समयमा बक्समा पुगेर नेटमा पठाउँदै भुटानको लागि ऐतिहासिक जित सुनिश्चित गरिन्।