काठमाडौं। एएफसी महिला एसियन कपमा पहिलो पटक स्थान सुरक्षित गरिसकेको बंगलादेशी महिला फुटबल टोलीले अब सन् २०२७ को फिफा महिला विश्वकप र सन् २०२८ को ओलम्पिकमा छनोट हुने सपना बोकेको छ।
म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा भएको छनोट खेलमा ऋतुपोर्णा चक्माको दुई गोलको मद्दतले बंगलादेशले वरीयतामा आफूभन्दा उच्च स्थानमा रहेको म्यानमारलाई २–१ ले पराजित गर्यो।
विश्व वरीयतामा १२८औं स्थानमा रहेको बंगलादेशका लागि यो जित निकै ऐतिहासिक रह्यो। म्यानमार ७३ स्थान अगाडि रहेको टोली हो। बंगलादेशको एसियन कप यात्रा अझ स्पष्ट तब भयो जब सोही दिन टुर्कमेनिस्तान र बहराइनबीचको खेल २–२ को बराबरीमा टुंगियो।
अगामी मार्चमा आयोजना हुने एसियन कपमा कुल १२ टोली सहभागी हुने छन्। उक्त प्रतियोगिता विश्वकप छनोट चरणको रूपमा समेत रहेको छ। शीर्ष ६ टोली सिधै विश्वकपमा छनोट हुनेछन्।
यस्तै, शीर्ष ८ टोलीलाई ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त हुनेछ। सातौं र आठौं स्थान प्राप्त गर्ने टोलीले भने इन्टरकन्टिनेन्टल प्लेअफमार्फत विश्वकपको लागि अझ एक मौका पाउनेछन्।
यद्यपि, विश्वकप र ओलम्पिकसम्म पुग्न अझै लामो यात्रा बाँकी छ। तर, म्यानमार र बहराइनजस्ता प्रतिस्पर्धीलाई हराएको बंगलादेश महिला टोलीले अब ती लक्ष्यहरूलाई सम्भव ठान्न थालिसकेको छ।