काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले साँघुरो जित निकालेको छ ।
सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सातदोबाटोलाई जित दिलाउन दोर्जे तामाङले निर्णायक गोल गरे ।
खेलको २५ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गरेका थिए ।
श्री भगवतीका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो ।
यस जितसँगै सातदोबाटोले लिगमा अपराजित यात्रा कायम राखेको छ ।
सातदोबाटोले शीर्ष डिभिजनमा उक्लने मौका समेत बलियो बनाएको छ ।
जितपछि सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ ।
श्री भगवती ८ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।