एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनविरुद्ध ३-२ गोलको पुनरागमन जित निकालेको हो ।
साउथह्याम्पटनको मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर युनाईटेडले उत्कृष्ट जित निकालेको हो ।
सेन्ट मेरी स्टेडियममा खेलको २६ औं मिनेटमा जान बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा जेम्स वार्ड प्राउसले फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटन २-० को अग्रता दिलाए ।
तर, दोस्रो हाफमा युनाईटेड खेलमा फर्कियो ।
खेलको ५९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई २-१ को स्थितिमा ल्याए । उनले काभानीको पासमा गोल गरेका थिए ।
यससँगै फर्नान्डेस युनाईटेडका लागि पाँच अवे खेलमा लगातार गोल गर्ने युनाईटेडका चौंथो खेलाडी बने ।
खेलको ८४ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-२ गोलको बराबरीमा ल्याए ।
उनी दोस्रो हाफमा मासन ग्रीनउडको स्थानमा मैदान प्रवेश गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा काभानीले हेडमार्फत गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।
काभानी सब्सिच्युड खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेर २ गोल र एक असिस्ट गर्ने युनाईटेडका दोस्रो खेलाडी बनेका छन् ।
जितसँगै युनाईटेड प्रिमियर लिग इतिहासमा अवे खेलमा लगातार चौंथो जित निकाल्ने पहिलो क्लब बनेको छ ।
जितपछि युनाईटेड तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
युनाईटेडले ९ खेलमा १६ अंक जोडेको छ ।
साउथह्याम्पटन १० खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।