एजेन्सी । बेन्चबाट मैदान छिर्दै मार्कुस रासफोर्डले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले आरबी लाइपजिगलाई हराएको छ ।
बुधबार राति भएको समूह एचको खेलमा रासफोर्डको ह्याट्रिक प्रेरित युनाईटेडले लाइपजिगलाई ५–० ले हराएको हो ।
इंग्ल्यान्डका अन्तराष्ट्रिय खेलाडी रासफोर्डले मैदान छिरेको १६ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
युवा खेलाडी मासन ग्रिनउडले प्रतियोगितामा पहिलो गोल गरे । पाउल पोग्बाको पासलाई सदुपयोग गर्दै ग्रिनउडले युनाईटेडका लागि गोलको खाता खोलेका थिए ।
दोस्रो हाफमा मैदान छिरेका रासफोर्डले ७४ औं मिनेटमा पहिलो गोल गरे । ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्दै उनले युनाईटेडलाई २–० ले अघि बढाए । त्यसको चार मिनेटपछि उनैले युनाईटेडका लागि तेस्रो गोल गरे ।
खेल सकिन ३ मिनेट बाँकी छदाँ एन्थोनी मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ४–० को सहज अवस्थामा पुर्याएका थिए । इन्जुरी समयमा रासफोर्डले ह्याट्रिक पुरा गर्दै युनाईटेडलाई ५–० को शानदार जित दिलाए ।
आले गुनर सोल्सायरले पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो खेलमा लाइपजिगविरुद्ध ३ अंक बटुल्दै युनाईटेडले चार खेलमा अपराजित यात्रालाई कायम राखेको छ ।
युनाईटेड ६ अंक सहित समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको पीएसजीको ३ अंक छ । लाइपजिग ३ अंक बटुल्दै तेस्रो स्थानमा छ । इस्तान्बुल बासाकेशिर अंक विहिन हुँदै पुछारमा छ ।